नाकाबन्दीले स्वास्थ्य सेवा प्रभावित

भारतीय नाकाबन्दीबाट उत्पन्न पेट्रोलियम अभावले अस्पतालजस्तो अत्यावश्यक सेवा सञ्चालनमा समेत कठिनाइ उत्पन्न भएको छ। उपत्यकाका अधिकांश अस्पतालमा अत्यावश्यक औषधि अभाव हुन थालेको छ। औषधि नहुँदा बिरामीले सहज उपचार पाइरहेका छैनन्। बिरामी चापसमेत नियमित समयभन्दा आधा कम भएको सम्बन्धित अधिकारी बताउँछन् । यसले भारतीय नाकाबन्दीका कारण स्वास्थ्यजस्तो आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको पुष्टि गर्छ ।
 
वीर अस्पतालको स्टोरमा नियमित प्रयोग गर्नुपर्ने औषधि सकिँदै गएको निर्देशक डा. स्वयमप्रसाद पण्डितले बताए । यस्तै स्थिति कायम रहे केही दिनमै औषधि अभावले बिरामी उपचारमा समस्या आउने उनको भनाइ छ । ‘पहिलेजति बिरामी नआएकाले मात्र अहिलेसम्म धान्न सकेका छौं,’ उनले सेतोपाटीसँग भने, ‘नत्र नियमित उपचारमै समस्या आइसक्थ्यो ।’
 
वीरले भर्ना भएका बिरामीलाई दाउरा प्रयोग गरेर खाना पकाउने गरेको छ। रगत संकलन गर्ने झोला अभाव हुँदा बिरामीलाई रगत दिन पनि समस्या उत्पन्न भएको उनले बताए ।
 
महारागन्जस्थित टिचिङ अस्पतालले पनि ग्यास अभावका कारण बिरामीलाई दाउरामा खाना पकाएर खुवाइरहेको छ । चौरमा टेन्ट टांगेर दाउरामा खाना पकाइएको दृश्य यहाँ देख्न सकिन्छ। नियमित समयमा एक दिनमै छ सिलिन्डर ग्यास खपत हुन्थ्यो ।
 
अस्पतालका प्रशासन प्रमुख चन्द्रमणि भण्डारीले अत्यावश्यक औषधि भने एम्बुलेन्सबाट आपूर्ति गरिरहेको बताए । नाकाबन्दी भएको एक सातामै टिचिङ अस्पतालमा औषधि अभाव देखिन थालेको थियो। ‘वितरकले औषधि नल्याइदिएपछि अभाव देखिन थालेको थियो,’ उनले भने, ‘एक सातापछि हामी आफैंले एम्बुलेन्स वा अस्पतालको गाडीमा ओसार्न थाल्यौं ।’
 
पेट्रोलियम अभाव भएपछि टिचिङले आफ्ना कर्मचारीलाई प्रदान गर्दै आएको यातायात सेवा बन्द गरेको छ। बिहान र रातिका डाक्टर तथा नर्सलाई मात्र यातायात सुविधा उपलब्ध गराइरहेको भण्डारीले बताए। दिउँसो ड्युटी गर्ने डाक्टर तथा नर्स सार्वजनिक यातायातमै आउजाउ गरिरहेका छन् ।
 
नयाँ बानेश्वरको सिभिल अस्पतालले आफ्नो स्टारोमा रहेको औषधिमा कमी आउन थालेपछि लामो समय खाने औषधि डेढ महिनाका लागि मात्र उपलब्ध गराउन थालेको छ । अन्य सेवाका लागि भने अहिलेसम्म कुनै समस्या नआएको अस्पतालका कार्यकारी निर्देशक डा. विमल थापाले बताए । आपूर्ति मन्त्रालयसँग आग्रह गरेपछि अस्पतालको अत्यावश्यकीय सेवाका लागि इन्धन उपलब्ध भइरहेको उनको भनाइ छ ।
 
पाटन अस्पतालकी भाइस चान्सलर प्रोफेसर संगीता भण्डारी इन्धन अभावले बिरामी चाप नै घटेको बताउँछिन् । उनका अनुसार यहाँ हिजोआज नजिकका बिरामी मात्र आइरहेका छन् । त्यस्तै, ग्यास अभावले कर्मचारीको खानमा समेत कटौती गरिएको छ । बिरामीलाई भने दाउरामै पकाएर भए पनि बिहान र बेलुकाको खाना उपलब्ध गराइएको छ ।
Labels:

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget